काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा विधिपूर्वक समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा सुरु गरेको स्वस्थानी व्रत आज समापन गर्ने परम्परा छ।
पौष शुक्ल पूर्णिमादेखि व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनहरूले आज विधिपूर्वक व्रत समापन गर्दैछन्। यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्य—कुमार र अगस्त्यबीचको संवाद—स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने कार्य पनि आज सम्पन्न गरिँदैछ।
विधिपूर्वक एक महिना व्रत गरेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न प्रकारका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिने विधि रहेको छ।
चढाइएका प्रसादमध्ये सबैबाट आठ–आठ भाग पति भए पतिलाई, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई दिने तथा कसै पनि नभए मनोकामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा बगाउने चलन छ। सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने र सो समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने परम्परा पनि रहिआएको छ। यसरी व्रत गर्दा बर्तालुको मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ।
स्वस्थानीको शाब्दिक अर्थ ‘आफू बसेको स्थानकी देवी’ भन्ने बुझिन्छ। उत्तरायणपछिको समय ध्यान र योग साधनाका लागि उपयुक्त मानिएकाले स्वस्थान अर्थात् आत्मासँग सम्पर्क गर्ने अभ्यासलाई स्वस्थानी भनिएको धार्मिक विश्वास पनि छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समयलाई यसका लागि उत्तम मानिन्छ।
स्वस्थानी देवीलाई सुवर्णवर्णी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल तथा सिंहासनमा आसिन, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। व्रतकथाअनुसार उहाँका चार हातमध्ये नीलकमल, खड्ग, ढाल र वरदमुद्रा रहेको उल्लेख छ।
विधिपूर्वक स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याध निको हुने तथा इच्छित जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न विष्णुको निर्देशानुसार स्वस्थानी व्रत गरेको कथासमेत स्वस्थानी व्रतकथामा उल्लेख छ। साथै, नाग–नागिनीको पुनर्मिलन र गोमा ब्राह्मणीले पुत्रवियोगबाट मुक्ति पाएको कथासमेत समावेश छ।
साँखुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठका अनुसार, गोमा ब्राह्मणीका पुत्र नवराज लावण्य व्रतकै प्रभावले साँखु क्षेत्रका राजा बनेको कथासमेत स्वस्थानीमा वर्णित छ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज मध्याह्नकालपछि विधिपूर्वक पूजा गरी व्रत समापन गरिन्छ। राति जाग्राम बसेपछि बिहीबार बिहान फूलपाती नदीमा सेलाएसँगै यस वर्षको स्वस्थानी व्रत सम्पन्न हुने विधि छ।
यसैबीच, उपत्यकाको पूर्वी भेगस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज अश्वमेध यज्ञ गरी समापन गरिने भएको छ। यहाँ करिब १६२ महिला र १५ पुरुषले एक महिना लामो कठोर व्रत गरेका छन्। आजको दिनलाई नेवार समुदायले ‘सि पुन्हि’का रूपमा पनि मनाउने परम्परा छ।

