काठमाण्डौ— हेटौँडा–काठमाडौँलाई जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ औषधि लोड लिएर जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडकखण्डमा ब्रेकफेल भई अनियन्त्रित रूपमा पल्टिएपछि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।
सडक अबरुद्ध भएपछि हेटौँडाबाट काठमाडौँतर्फ गएका तथा काठमाडौँबाट हेटौँडा आउँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्। प्रहरीले ट्रक हटाएर यातायात सुचारु गराउने प्रयास जारी रहेको जनाएको छ।
सोलारको तार सर्ट भई आगलागी, चार लाखको क्षति
मकवानपुरको राक्सिराङ गाउँपालिका–७ ध्यारी टोलमा सोलारको तार सर्ट भई आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। आगलागीबाट स्थानीय ७० वर्षीया आइती मायाँ प्रजाको एकतले घर, घरभित्र रहेको नगद ७० हजार, सुनको तिलहरी एक थान, लत्ताकपडा, भाडावर्तन, खाद्यान्नसहितका सामान पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी जनाएको छ।

