काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार यसअघि पटक–पटक स्थगित हुँदै मंसिर ४ का लागि तोकिएको बैठक पनि स्थगित गरेर आजका लागि सारिएको हो।
बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश समितिका सभापतिहरू सहभागी हुनेछन्। असोज २८ देखि निरन्तर चल्दै आएको बैठकमा १५औँ महाधिवेशनको मिति मुख्य एजेन्डा बनेको छ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनभन्दा अघि, पुसभित्रै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएका छन्। तर सभापति शेरबहादुर देउवा पक्ष भने निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने मतमा छ।
महामन्त्रीद्वयले नियमित महाधिवेशन सम्भव नभए करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनाअनुसार ‘विशेष महाधिवेशन’ गर्नुपर्ने धारणा प्रस्तुत गर्दै आएका छन्।
केन्द्रीय सदस्यहरूको औपचारिक मन्तव्य कात्तिक २७ मै सकिएको भए पनि सहमतिको खोजी भन्दै बैठक पटक–पटक सारिँदै आएको छ। आजको बसाइले विवाद समाधानतर्फ कति प्रगति हुन्छ भन्नेबारे चासो बढेको छ।

