काठमाडौँ । जेनजी समूह र नेकपा एमालेका नेता–कार्यकर्ताबीचको झडपले अशान्त बनेको सिमरा क्षेत्र शनिबारसम्म आइपुग्दा सामान्य अवस्थामै फर्किएको छ। बुधबार र बिहीबार सडक अवरोधसहित भइरहेको विरोध प्रदर्शनपछि शुक्रबार साँझ जिल्ला सुरक्षा समिति बारासँग जेनजी समूहको वार्ता सफल भएपछि स्थिति क्रमशः शान्त बन्दै गएको हो।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रतिनिधि र जेनजी समूहबीच सहमति भएपछि शनिबार बिहानैदेखि सिमरा क्षेत्र सामान्य रूपमा सञ्चालनमा आएको स्थानीय प्रशासनले जनाएको छ।
बिहानैदेखि स्थानीयवासी आफ्नो दैनिक काममा फर्किएका छन् भने बजार तथा यातायात पनि नियमित रूपमा चल्न थालेका छन्।

