काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जेनजी समूहसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन्। ‘जेनजीसँग–नेकपा’ शीर्षक दिइएको अन्तरक्रिया कार्यक्रममा उनी सहभागी हुने पार्टी नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए।
उनका अनुसार कार्यक्रम बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, कोटेश्वरस्थित पेरिसडाँडामा सुरु हुनेछ। कार्यक्रममा प्रचण्डसँगै पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ।
अन्तरक्रियामा जेनजी युवाले देखाएको राजनीतिक आकांक्षा, उनीहरूले चाहेको नयाँ नेपाल, र त्यसमा पार्टीको भूमिकाबारे विस्तृत छलफल हुने बताइएको छ।
तत्कालीन माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालद्वारा आयोजना गरिएको सो कार्यक्रममा छलफल सत्रसँगै म्युजिक कन्सर्टलगायत सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिने आयोजकहरूले जनाएका छन्।

