निजी क्षेत्रको मनोबल बढाउन विशेष पहल गर्न सुझाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले हालको आर्थिक चुनौतीबीच निजी क्षेत्रको मनोबल पुनः उठाउन सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव दिएका छन्।
शनिबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय आर्थिक बहस–२’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक अहिले “आशा र संशयको दोबाटोमा” उभिएको बताउँदै, भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनाका सरकारका प्रयासलाई निजी क्षेत्रले समर्थन गर्न तयार रहेको बताए।
उनले भने — “व्यवसायीका शयनकक्षसम्म लुटपाट भयो, उद्योगहरूमा आगो लगाइयो, अब सरकारले निजी क्षेत्रको सुरक्षा र मनोबल दुवैमा विशेष ध्यान दिनुपर्छ।”
८१ प्रतिशत अर्थतन्त्र, ८६ प्रतिशत रोजगारी निजी क्षेत्रको हातमा
ढकालका अनुसार, अन्तर्राष्ट्रिय वित्त निगम (IFC) को अध्ययनले नेपालको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान र रोजगारीमा ८६ प्रतिशत हिस्सा निजी क्षेत्रको रहेको देखाउँछ। “राजश्वमा पनि ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै हो,” उनले भने, “तर दुर्भाग्य, यही वर्गमाथि पटक–पटक आक्रमण भइरहेको छ।”
उनका अनुसार हालैका आन्दोलन र तोडफोडका घटनाबाट करिब ४८ अर्ब रुपैयाँको भौतिक क्षति र ८८ अर्ब बराबरको नोक्सानी भएको छ।
निजी क्षेत्र संरक्षण कार्यक्रम ल्याउन आग्रह
ढकालले सरकारले मन्त्रिपरिषद् बैठकबाट ‘निजी क्षेत्र संरक्षण एवं प्रवद्र्धन कार्यक्रम’ पारित गर्नुपर्ने माग गरे।
उनका अनुसार, सो कार्यक्रममार्फत निजी क्षेत्रलाई आवश्यक सुरक्षा, द्रुत सेवा सुविधा र व्यवसायिक वातावरण सुनिश्चित गरिनुपर्छ।
त्यस्तै, उनले शुसासन संयन्त्रमा निजी क्षेत्रको सहभागिता अनिवार्य बनाउन, व्यवसाय दर्ता प्रक्रिया सरलीकरण गर्न र नागरिक एप वा वडा कार्यालयबाटै कर र दर्ता सुविधा उपलब्ध गराउन सुझाव दिए। “राज्यले हामीमाथि करको भार मात्रै होइन, सुरक्षाको प्रत्याभूति पनि दिनुपर्छ,” ढकालको भनाइ थियो।
युवा उद्यमशीलता र स्टार्टअपलाई प्राथमिकता
ढकालले अहिलेको आर्थिक संकटको उत्तर युवा पुस्ताले दिन सक्ने भन्दै स्टार्टअप नीति कार्यान्वयन र युवा उद्यमशीलता विशेष कार्यक्रम तत्काल सुरु गर्नुपर्नेमा जोड दिए।
उनले भने —“सरकार र महासंघ मिलेर युवा उद्यमी मञ्चमार्फत व्यवसाय दर्ता, पूँजी संकलन र बजार विस्तारमा सहजीकरण गर्नुपर्छ।”
पूर्वाधार र लगानीमा सुरक्षाको ग्यारेन्टी
ढकालले सरकारी स्वीकृति पाइसकेका पूर्वाधार परियोजनामा स्थानीय वा प्रदेशस्तरका अवरोध रोक्न राज्यले स्पष्ट नीति ल्याउनुपर्ने बताए।
त्यस्तै, अवैध आयात नियन्त्रण, करका दर भारतसँग स्वचालित समायोजन गर्ने संयन्त्र र निर्यातमा रोकिएको अनुदान पुनः सुरु गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।
“नेपालले केही गर्न सक्दैन भन्ने नकारात्मक सोच तोड्न हामीले ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ स्थापना गरेका छौँ,” उनले भने, “आन्तरिक पूँजी परिचालन गरेर ठूला परियोजनामा लगानी गर्न अब हामी आफैं सक्षम छौँ।”
‘निजी क्षेत्र फल दिने वृक्ष हो’
भाषणको अन्त्यमा ढकालले अर्थमन्त्रीको भनाइ उद्धृत गर्दै भने —“निजी क्षेत्र भनेको फल दिने वृक्ष हो, त्यसैले यसलाई मलजल गरेर बढी फल दिनेगरी संरक्षण गर्नुपर्छ।”
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै थपे — “देशको समृद्धि र स्थायित्वका लागि निजी क्षेत्रलाई संरक्षकत्व दिनुहोस, हामी देशको विकासमा अझै बढी योगदान दिन तयार छौँ।”

