काठमाडौं । दुई महिना रोकिएको चन्द्रागिरि केबलकार तथा रिसोर्टको सेवा शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। केबलकार सेवा सुचारु भएपछि भालेश्वर महादेव मन्दिर दर्शन गर्न आउने भक्तजन र काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न चाहने पर्यटकहरूका लागि यात्रा सहज हुने भएको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडका कारण केबलकारको बटम स्टेशनमा पूर्ण क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। त्यसयता कम्पनीले केबलकार निर्माता अष्ट्रियाको डोपलमेयर (Doppelmayr) का उच्च प्राविधिक बोलाई मर्मत, सुरक्षा परीक्षण र निरीक्षण कार्य पूरा गरेपछि पुनः सञ्चालनमा ल्याएको हो।
चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सञ्चालनमा ल्याउन खटिएका प्राविधिक टोलीको मेहनत र प्रतिबद्धताप्रति धन्यवाद दिँदै भक्तजन र पर्यटकको धैर्यताप्रति आभार व्यक्त गरे।

उनले भने —“अब चन्द्रागिरि फेरि आफ्नै पुरानो लयमा फर्किएको छ। उपत्यकाको सुन्दर दृश्य, हरियाली र भालेश्वर महादेवको दर्शनका लागि सबैलाई हार्दिक स्वागत छ।
सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजार भक्तजन र पर्यटकले चन्द्रागिरि केबलकारको सुविधा लिँदै आएका थिए।
कम्पनीले सेवा सुचारु गर्न सहयोग पुर्याउने स्थानीय समुदाय र सरोकारवालाप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
काठमाडौँबाट करिब १६ किलोमिटर टाढा अवस्थित चन्द्रागिरि हिल्स हाल नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य मध्ये एक मानिन्छ। यहाँबाट गणेश, लाङटाङ, अन्नपूर्ण र गोरख हिमालसहितको दृश्यावलोकन गर्न सकिन्छ।
केबलकारसँगै रिसोर्ट, अवलोकन टावर, बाल–उद्यान र रेस्टुरेन्ट लगायतका सेवा पनि पुनः सुचारु हुने भएका छन्।

