काठमाडौं, असार १ ।
सामाजिक सञ्जाल टिकटकमा तथ्यहीन र भ्रामक सामग्री प्रसारण गरी जातीय तथा साम्प्रदायिक सौहार्दमा खलल पुर्याएको आरोपमा एक युवतीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ की स्थायी बासिन्दा र हाल भक्तपुरमा बस्दै आएकी ३१ वर्षीया रमा बस्नेतलाई प्रहरीले भक्तपुरबाट नियन्त्रणमा लिएको हो। साइबर ब्यूरोका अनुसार बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्थाहरूमाथि नियोजित ढंगले आधारहीन र भ्रामक सामग्रीहरू सार्वजनिक गर्दै आएकी थिइन्।
ब्यूरोले जनाएको छ कि बस्नेतका भिडियोहरूले जातीय, धार्मिक र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्नुका साथै केही व्यक्तिहरूको चरित्र हत्या गर्ने खालका आरोपहरू समेत उठेका थिए। सोही आधारमा विभिन्न उजुरीहरू परेपछि प्राविधिक विश्लेषण र अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानबाट बस्नेतको संलग्नता पुष्टि भएपछि उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी पक्राउ गरिएको साइबर ब्यूरोले जानकारी दिएको छ।
हाल बस्नेतलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गरी गलत सूचनाको प्रचार–प्रसार गर्नेप्रति प्रहरीले कडा निगरानी राखिरहेको छ। उनले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको आडमा अरूको सम्मान र सामाजिक सद्भावमा क्षति पुर्याउने कार्यलाई कानुनी दायरामा ल्याउने स्पष्ट संकेतसमेत दिएका छन्।
साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिम्मेवार र मर्यादित व्यवहार गर्न आग्रह गर्दै सामाजिक एकता विथोल्ने तथा भ्रम फैलाउने कार्यमा संलग्न व्यक्तिहरूविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।
यस घटनाले सामाजिक सञ्जालमा अनियन्त्रित सामग्रीको जोखिम र त्यसविरुद्ध हुने सरकारी निगरानीको संवेदनशीलता उजागर गरेको छ।

