काठमाण्डौ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर एयरलाइन्सको विमानमार्फत प्रस्थान गरेका देउवा दम्पती चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए। विमानस्थलबाट बाहिरिने क्रममा उनीहरू ह्विलचेयरमा देखिएका थिए।

जेन-जी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट गरिएको थियो भने घरमा आगजनी भएको थियो। लामो समयसम्म सार्वजनिक नभएका देउवा दम्पती गत असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सार्वजनिक भएका थिए।
यसअघि कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो। देउवा दम्पती उपचारका लागि सिंगापुर गएका हुन्।

