काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले राजनीतिक दलहरू आफ्नै कारणले विस्थापित भइरहेको बताएका छन्। नेता खतिवडाले पछिल्लो घटनाले नेपालका कम्युनिष्ट पार्टीहरू जनताबाट बहिष्कृत मात्र नभई तिरष्कृत समेत भएको देखिएको खुलासा गरे ।
आइतवार काठमाडौंमा प्रगतिशील लेखक संघ नेपालद्वारा आयोजित विचारगोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको परिवर्तनको लागि सबैभन्दा ठूलो त्याग एवम् बलिदान गर्ने, गणतन्त्र ल्याउने, समाजवादको दिशामा जाने राजनीतिक दलहरूलाई अहिले जनताले मन पराउन छोडेको कारणका पछि दलहरूको आन्तरिक कारण महत्वपूर्ण भएको बताए।
नेता खतिवडाले नाराले मात्र जनताको पार्टी बन्न नसक्ने, कम्युनिष्ट पार्टीहरू सिद्धान्त र व्यवहारमा आकाश-जमिन फरक भएको कारण पछिल्लो विस्फोट भएको दाबी गरे ।

यसको कारण नेताहरूको व्यवहार र कार्यशैली रहेको बताए। उनले कम्युनिष्ट पार्टी वितृष्णा, निषेध र समाप्तिको डिलमा पुग्नुको कारण नेताहरूको चरित्र र काम नै रहेको बताए। सत्तामा पुगेपछि वर्ग संघर्षलाई जोड नदिनुको परिणाम वर्तमान अवस्थामा देखिएको उनको टिप्पणी छ।
सत्ता संघर्षका लागि सारै तीब्र भएर लाग्ने, सत्तामा पुगेपछि सत्तामा टिक्न झनै व्यग्र भएर लाग्ने तर जुन वर्गको प्रतिनिधित्व गरेर आउने हो त्यस बर्गको हित एवम् उत्थानका लागि कहिल्यै नलाग्दा श्रमजीवि वर्ग कम्युनिष्ट पार्टीबाट टाढिँदै गएको उनले जिकिर गरे ।
उपाध्यक्ष खतिवडाले नेपालका कम्युनिष्ट पार्टीहरू पटक पटक सरकार बनाउने ठाउँमा पुगेका र त्यहाँ पुग्दा अर्थात् पुगेपछि समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न कुनै काम नभएकोले युवाहरूमा चरम निरासा, बितृष्णा पैदा भएको र त्यसैको आवरणमा विभिन्न शक्तिकेन्द्रले खेल्दा मुलुकमा ठूलो क्षती हुन पुगेको बताए।