काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सबै कमिटी भंग गरी आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्।
आइतबार (आज) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रचण्डले विद्यमान सबै संरचना विघटन गरी आयोजक समिति बनाएर महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने सुझाव दिएका हुन्। उक्त प्रस्ताव पदाधिकारी बैठकबाट पारित भई केन्द्रीय समिति बैठकमा पेश गरिने बताइएको छ।
‘अध्यक्षले सबै कमिटी भंग गरेर आयोजक समितिमा रूपान्तरण गर्ने र मंसिरमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चुन्ने प्रस्ताव गर्नुभएको छ,’ एक पदाधिकारीले जानकारी दिए।
यसै क्रममा प्रचण्डले केन्द्रीय समिति बैठक पनि एक साताभित्रै आह्वान गर्ने घोषणा गरेका छन्।
यसअघि उपमहासचिव जनार्दन शर्मा प्रभाकर पक्षले हालको नीति र नेतृत्वमा असहमति जनाउँदै विशेष महाधिवेशनको माग गर्दै आएको थियो।