काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र आमुल सुधार गर्नुपर्ने औंल्याएका छन् । पार्टीलाई आमूल सुधारका लागि नियमित वा विशेष महाधिवेशबाट नेतृत्व चयन गर्नुपर्ने महामन्त्री थापाले माग अघि सारेका हुन् ।
जेन-जी आन्दोलनले उठाएका मागलाई सम्बोधन गर्न पनि सबैभन्दा पहिला पार्टीमा नेतृत्व परिवर्तन अपरिहार्य रहेको उनको ठहर छ ।
महामन्त्री थापाले शनिबार एक भिडियो सन्देशमार्फत पार्टीको सान्दर्भिकता जोगाउन र युवापुस्ताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न आफूहरूले तत्काल पार्टीभित्र हस्तक्षेप गर्ने संकेत दिएका छन् । ‘यत्रो उथलपुथल भएको छ, के हामीले पार्टीलाई जस्ताको तस्तै राखेर टिकाउन सक्छौं, यो सम्भव छैन,’ उनले भने ।
थापाले आफू र अर्का महामन्त्रीले सही विषयहरू उठाए पनि तिनलाई टुंगोमा पुर्याउन नसकेकोमा आत्मालोचनासमेत गरेका छन् । ‘हामीले जहिले पनि कुरा उठायौं, तर बीचमै छाड्यौं । यो हाम्रो कमजोरी हो । यो पटक हामी छाड्दैनौं ।’
उनले पार्टीको पुनर्गठन नभए आन्दोलनमा व्यक्त भएको भावना र युवाहरूको अपेक्षा सम्बोधन गर्न नसकिने चेतावनी दिए । थापाले पार्टीको नेतृत्व र नीतिमा आमूल परिवर्तनका लागि तत्काल अधिवेशन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि नियमित र विशेष अधिवेशन दुई वटा विकल्प रहेको उनको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय कार्यसमितिको आगामी मंसिरबाट चार वर्षको कार्यकाल समाप्त हुँदैछ । ‘पहिलो, नयाँ अधिवेशनमार्फत पुराना क्रियाशील सदस्यताको नवीकरण गर्ने, दुई महिनाका लागि नयाँ सदस्यता खोल्ने, विधानका धारा निलम्बन गरी सिधै सभापति चयन गर्ने’ थापाले भने । यो बाटोले पार्टीमा नयाँ र समावेशी नेतृत्व ल्याउन सकिने उनको विश्वास छ। दोस्रो विकल्पका रूपमा पुराना (१४ औं महाधिवेशनका मतदाता) महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्ने र पार्टीको नीति, नियम र कमजोरीहरू सुधार्ने गर्ने ।
थापाले २०१४ सालमा पनि विशेष महाधिवेशन भएकाले यसपटक पनि गर्न सकिने बताए । उनले २०१४ सालमा विराटनगरमा सम्पन्न भएको विशेष महाधिवेशनको उदाहरण दिँदै पार्टी पुनर्गठनको सम्भावनालाई प्रस्ट्याए । ‘०१२ सालमा निर्वाचित सुवर्णशमशेरको कमिटीले विशेष महाधिवेशनको निर्णय गर्यो । सुवर्णजीले राजीनामा दिएर बाटो खोलिदिनुभयो र २०१४ मा बीपी कोइराला सभापति बन्नुभयो । त्यही नेतृत्वले नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमतसहितको पार्टी बनायो । आज फेरि त्यस्तै अवसर आएको छ’ भिडियो सन्देशमा थापाले भनेका छन् ।
उनले विशेष महाधिवेशनले नयाँ नेतृत्वमात्र होइन, पार्टीको नीति र कमजोरी सुधार्ने अवसर पनि प्रदान गर्ने बताए । ‘यो केवल नेतृत्व चयनको कुरा होइन, यो पार्टीको नीति, नियम र कमजोरी सुधार्ने मौका पनि हो । हामीले यो अवसर गुमाउनु हुँदैन’ थापाको भनाइ थियो ।
सभापति शेरबहादुर देउवाको स्वास्थ्य उपचारको समयमा विशेष महाधिवेशनको कुरा उठाउनु असंवेदनशील भएको भन्ने संस्थापनपक्षीय नेताहरुको टिप्पणीप्रति थापाले सभापतिसँगको सल्लाहबमोजिम अघि बढ्ने बताए । ‘हामी मनाउने र फकाउने प्रयास गर्छौं, तर यदि कोही मान्न तयार भएन भने हात उठाएर होइन, अगाडि बढ्नुपर्छ’ पार्टीमा हस्तक्षेपकारी सन्देश दिँदै थापाले भने, ‘यो कदम पार्टी र देशको हितका लागि अपरिहार्य छ । हामी संवेदनाहीन छैनौं तर पार्टी र देशको भविष्यका लागि कठोर निर्णय लिनु जरुरी छ।’
पार्टी र मुलुकका लागि आफू साधरण सदस्य मात्रै भएर पनि बस्न तयार रहेको बताए । ‘म जस्तोसुकै मूल्य चुकाउन तयार छु । साधारण सदस्य भएर भुइँमा बस्न तयार छु । यो मेरो व्यक्तिगत विषय होइन । मभन्दा माथि पार्टी छ, पार्टीभन्दा माथि देश छ, र देशभन्दा माथि युवाले देखेको परिवर्तनको सपना छ,’ थापाले भने,‘पार्टीले युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न नसके हामीहरुको सान्दर्भिकता समेत रहँदैन । नौजवानहरूले परिवर्तन खोजेका छन्। त्यसलाई सम्बोधन गर्ने पार्टी बनायौं भनेमात्रै हामी रेलिभेन्ट हुन्छौं र त्यस्तो पार्टीले मात्रै देशको जिम्मेवारी पूरा गर्न सक्छ ।’
उनले जीनजी आन्दोलनमा राज्यबाट भएको दमनको छानबिन गरिनुपर्ने बताए । थापाले २०४६ सालपछि जिम्मेवारीमा रहेका सबैको सम्पत्ति, जग्गा, व्यापार र विभिन्न काण्डहरूको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत राखे । ‘म मन्त्री भएको छु, चारपटक सांसद भएको छु । मेरो सम्पत्तिको पनि छानबिन होस् । दूधको दूध, पानीको पानी छुट्याउनुपर्छ,’ उनले भने। उनले भ्रष्टाचारको छानबिन नभए आन्दोलनको उपलब्धि अधुरो रहने र शहीदहरूको बलिदानको अपमान हुने भन्दै जसले गल्ती गरेको छ, उसले सजाय पाउने विधि बसालिए मात्रै आन्दोलनको मर्मलाई सम्मान हुने बताए ।