काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार आरोपितमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणकी पूर्वमन्त्री रन्जिता श्रेष्ठ रहेका छन्।
अख्तियारले जनाएको छ, गुप्ताले कास्की जिल्लास्थित मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा रोक्नका लागि घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ घुस लिएको तथा भूमि आयोगको सदस्य बनाउन २५ लाखको डिल गरेको प्रमाणसहित अनुसन्धान पूरा गरेको हो।
त्यसकै आधारमा आयोगले बुधबार गुप्ता र श्रेष्ठसहित सात जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा दायर गरेको छ।
अख्तियारले मन्त्री गुप्ता र पूर्वमन्त्री श्रेष्ठ दुवैसँग ७८ लाख रुपैयाँ विगोसहित सजायको माग गरेको छ।
त्यस्तै, मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख, घरजग्गा व्यवसायी सुजनकुमार तामाङ (सुजन लामा) विरुद्ध ७८ लाख,खेमबहादुर पुन (खेम पुन) विरुद्ध २५ लाख, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगर विरुद्ध पनि ७८–७८ लाख रुपैयाँ विगोसहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले यो मुद्दालाई “साक्ष्यसहितको ठोस भ्रष्टाचार प्रकरण” भन्दै अदालतमा प्रस्तुत गरेको हो ।

