काठमाडौँ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा युद्धविराम र बन्धक रिहा गर्न इजरायल र हमासबीच भएको सम्झौताप्रति स्वागत व्यक्त गरेका छन्। उनले यो सम्झौता सम्भव बनाउन सहयोग पुर्याउने अमेरिका, कतार, इजिप्ट र टर्कीका कूटनीतिक प्रयासको प्रशंसा पनि गरेका छन्।
गुटेरेसले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेका छन्, “म सबै पक्षलाई सम्झौताका सर्तहरूको पूर्ण पालना गर्न आग्रह गर्दछु। सबै बन्धकहरूलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्छ र स्थायी युद्धविराम सुनिश्चित हुनुपर्छ। लडाइँ सधैंका लागि समाप्त हुनुपर्छ।”
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास र इजरायलबीच गाजामा शान्ति स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको बताएका थिए।
गुटेरेसले गाजामा तात्कालिक मानवीय सहायता पुर्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरेका छन्।
यसबीच, युद्धविराम सम्झौतापछि गाजामा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशा बलियो बनेको छ।
बुधबार मात्र सार्वजनिक भएको विपिन जोशी बोलिरहेको पुरानो भिडियोले उनी जीवितै रहेको सम्भावना देखाए पनि त्यो दुई वर्ष पुरानो भएकाले उनको हालको अवस्था अझै स्पष्ट भएको छैन।

