काठमाडौँ। दुई वर्षदेखि गाजामा हमासद्वारा बन्धक बनाइएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडियो सार्वजनिक भएको छ।
इजरायली अनलाइन समाचार माध्यम द टाइम्स अफ इजरायलका अनुसार यो भिडियो २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको हमास आक्रमणपछि केही समयमै खिचिएको हो। इजरायलको रक्षा बलले उक्त भिडियो बरामद गरी जोशीको परिवारलाई उपलब्ध गराएको बताइएको छ।
भिडियो करिब ३३ सेकेन्ड लामो छ, जसमा विपिन अंग्रेजीमा बोलिरहेका छन्। उनी भन्छन्—“मेरो नाम बिपिन जोशी हो। म नेपालबाट हुँ। म २३ वर्षको छु। म २५ दिनअघि इजरायल आएको थिएँ। म ‘सिक्नुहोस् र कमाउनुहोस्’ कार्यक्रमअन्तर्गत यहाँ आएको हुँ। म सिट्रस र कागतीको कृषि फार्ममा काम गर्छु।”
यो भिडियो २०२३ नोभेम्बरतिर खिचिएको विश्वास गरिएको छ। भिडियो सार्वजनिकसँगै विपिन जीवितै हुन सक्ने आशा पलाएको छ, तर यो दृश्य दुई वर्ष पुरानो भएकाले उनको हालको अवस्थाबारे अझै स्पष्ट जानकारी छैन।

