काठमाडौँ। जेन–जी आन्दोलनपछि एक सातासम्म सैनिक सुरक्षा घेरीनिर बसेर बाहिरिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि अहिले पार्टीभित्र पद छोड्ने दबाब तीव्र बनेको छ। तर ओलीले आफू अझै “पूर्ण रूपमा सक्षम र जिम्मेवार” रहेको भन्दै अध्यक्ष नछोड्ने स्पष्ट सन्देश दिएका छन्।
सार्वजनिक कार्यक्रममा देखिन छाडे पनि ओलीले पछिल्ला दिनहरूमा प्रदेश र जिल्ला तहका अध्यक्ष तथा इन्चार्जहरूसँग भर्चुअल संवाद गर्दै आएका छन्। आधिकारिक रूपमा केन्द्रीय कमिटी बैठकका लागि सुझाव संकलन भनिए पनि यी संवादमार्फत ओलीले आफूमाथि उठेको राजीनामाको दबाबबारे नेताहरूको धारणा बुझिरहेका छन्।
गण्डकीका नेतासँगको भर्चुअल संवादमा ओलीले स्पष्ट रूपमा भनेका छन् — “सक्रियताले दिन्नँ, इमान्दारीले दिन्नँ, कुनै हिसाबले पनि दिन्नँ। जबसम्म म सक्छु, नेतृत्व छोड्दिनँ। जुनदिन सक्तिनँ, त्यही दिन छोडिदिन्छु।”
पार्टीभित्र नचाहिँदो हल्लाखल्ला मच्चाइएको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन्।
ओलीले हालसम्म कोसीदेखि सुदूरपश्चिमसम्मका जिल्ला र प्रदेश अध्यक्षहरूसँग संवाद सकाइसकेका छन्। कोसीका नेतासँग उनले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने धारणा राखेका थिए भने कर्णाली र गण्डकीका नेतासँग भने नेतृत्व नछोड्ने अडान दोहोर्याएका छन्।
बागमती प्रदेशका नेताहरूका अनुसार ओलीले उनीहरूलाई सुने पनि धेरै बोलेनन्।
“अध्यक्षले भदौ २३ र २४ गतेका घटनाक्रमबारे ब्रिफिङ गर्नुभयो। परिस्थिति हेरेर पार्टीले निर्णय गर्छ भन्नुभयो,” एक नेताले बताए।
एमालेको सचिवालय बैठक असोज २४ गते बस्ने तय छ, जसमा पदाधिकारीहरूले ओलीको राजीनामालाई प्रमुख एजेन्डा बनाउने तयारी गरेको बताइन्छ। त्यसपछि असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक पनि बस्नेछ।
कोसीका नेताहरूले पार्टीलाई “अब महाधिवेशनमा लैजानु पर्ने” सुझाव दिएका छन्। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका नेताहरूसँगको भर्चुअल संवादमा ओलीले पार्टीको आन्तरिक स्थिति र आगामी रणनीतिबारे सुझाव लिएका छन्।
यसैगरी ओलीले बैठकमा जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे जानकारी दिँदै पार्टीलाई संविधान र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
गुण्डुमा ओलीको विशेष भेटघाट, समसामयिक राजनीतिक धारणा सार्वजनिक गर्ने तयारी
यसैबीच नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहिबार) भक्तपुरको गुण्डुमा विशेष भेटघाट कार्यक्रममार्फत समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न लागेका छन्।
कार्यक्रमको जानकारी दिँदै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीको उपस्थितिको पुष्टि गरेका छन्। उनका अनुसार, भेटघाट कार्यक्रममा भक्तपुरका एमाले कार्यकर्तासँगै अन्य केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ।
भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले भने, “समसामयिक राजनीतिक अवस्थाबारे अध्यक्ष ओलीले मन्तव्य दिनेछन्। साथै, दसैँ–तिहारलगायत चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”
जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली अहिले भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।
पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढ्दो अवस्थामा हुँदा पनि ओलीले विभिन्न प्रदेश र जिल्ला नेताहरूसँग भर्चुअल संवादमार्फत ‘नेतृत्व नछोड्ने’ र ‘प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने’ अडान दोहोर्याउँदै आएका छन्।
आजको भेटघाट कार्यक्रममा ओलीले भक्तपुरदेखि राष्ट्रिय राजनीति र आगामी पार्टी रणनीतिबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा एमाले पार्टीपंतिको छ।


