काठमाडौँ। जेन-जी आन्दोलनको ठीक एक महिना पश्चात नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको गुण्डुमा विशेष भेटघाट कार्यक्रममार्फत समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा सार्वजनिक गर्न लागेका छन्।
कार्यक्रमको जानकारी दिँदै एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत ओलीको उपस्थितिको पुष्टि गरेका छन्। उनका अनुसार, भेटघाट कार्यक्रममा भक्तपुरका एमाले कार्यकर्तासँगै अन्य केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ।
भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले भने, “समसामयिक राजनीतिक अवस्थाबारे अध्यक्ष ओलीले मन्तव्य दिनेछन्। साथै, दसैँ–तिहारलगायत चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।”
जेन–जी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली अहिले भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्।
पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब बढ्दो अवस्थामा हुँदा पनि ओलीले विभिन्न प्रदेश र जिल्ला नेताहरूसँग भर्चुअल संवादमार्फत ‘नेतृत्व नछोड्ने’ र ‘प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने’ अडान दोहोर्याउँदै आएका छन्।
आजको भेटघाट कार्यक्रममा ओलीले भक्तपुरदेखि राष्ट्रिय राजनीति र आगामी पार्टी रणनीतिबारे महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ।

