काठमाडौं – ढाकामा जारी दोस्रो महिला कबड्डी विश्वकपमा नेपालले आफ्नो तेस्रो जित दर्ता गर्दै समूह चरणमा सशक्त उपस्थितिको संकेत गरेको छ। बिहीबार सम्पन्न खेलमा नेपालले केन्यालाई २८–२१ को रोमाञ्चक अन्तरले पराजित गर्दै महत्वपूर्ण दुई अंक सुरक्षित गर्यो।
पहिलो हाफमा नेपाल १३–११ को झिनो अग्रतामा रोकिएको थियो। तर दोस्रो हाफमा नेपाली महिला टोलीले आक्रामक खेल प्रस्तुत गर्दै थप १५ अंक जोडियो र जित आफ्नो पक्षमा पार्न सफल भयो। यससँगै नेपाल समूह चरणमा चार खेलबाट तीन जित र एक हारको स्थितिमा छ।
नेपालले प्रतियोगिताको सुरुवात जन्जिबारमाथि ५८–१६ को सानदार जितबाट गरेको थियो। बुधबारका खेलमा भने उसले मिश्रित नतिजा हात पार्यो—चाइनिज ताइपेईसँग ३१–१५ ले पराजित भएको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै पाखा लगाएको थियो।
महिला कबड्डी विश्वकप १३ वर्षपछि पुनः आयोजना गरिएको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो संस्करण भएको थियो, जहाँ भारत विजेता बनेको थियो। त्यसबेला इरान उपविजेता र जापान तेस्रो स्थानमा रहेका थिए।

