बागलुङ : दरमखोला हाइड्रोपावरले आइतबारदेखि व्यावसायिक रुपमा विद्युत् उत्पादन थालेपछि बागलुङको ऊर्जा–क्षेत्रमा नयाँ उपलब्धि थपिएको छ। ९.६ मेगावाट क्षमताको यो आयोजना जिल्लामा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना हो।
२०७७ सालमा निर्माण थालिएको परियोजना गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनसँग जडान भए पनि परीक्षण हुँदै आएको उत्पादन अब नियमित बनेको छ। दरमखोला हाइड्रो इनर्जी लिमिटेडले सञ्चालनमा ल्याएको यो आयोजना सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने भनिए पनि काम अघि नबढेपछि नयाँ कम्पनीले जिम्मा लिएको हो।
गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम तथा मनेवापाटा (साढे चार किलोमिटर पश्चिम) मा विद्युत्गृह निर्माण गरिएको हो। इञ्जिनियर मिथिलेस चौधरीका अनुसार बर्खायाम ९.६ मेगावाटसम्म उत्पादन क्षमता भए पनि हिउँदमा नदीको बहाव घटेकाले हाल ६.६ मेगावाट मात्र उत्पादन भइरहेको छ।
‘हरिचौर सबस्टेसनसम्म प्रसारण लाइन जोडिएको छ। प्रसारणको प्रक्रिया एक महिना अघि नै सकिएको थियो। अब उत्पादन पुरै नियमित भएको छ,’ इञ्जिनियर चौधरीले बताए।
परियोजनाको निर्माण रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेडले गरेका हुन्। निर्माणका क्रममा विभिन्न अवरोध परेकाले ढिलाइ हुन पुगेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताए।
‘१७ वर्ष अगाडि गोर्खा हाइड्रोपावर कम्पनीले पाएको इजाजत रद्द भएपछि हामीले नयाँ कम्पनी बनाएर काम अघि बढायौँ,’ पुनले भने, ‘सबै प्रक्रिया पार गरेर अब २ अर्बभन्दा बढी लागतमा आयोजना सम्पन्न भएको छ।’
उत्पादन सुरु भएपछि बागलुङका दुर्गम बस्तीहरूमा समेत स्थायी विद्युत् आपूर्तिबाट लाभ पुग्ने अपेक्षा लिइएको छ।

