सडकदेखि सभासम्म शक्ति प्रदर्शनको तयारी
काठमाडौँ — प्रतिनिधि सभा विघटनविरुद्ध क्रमशः सडक र अदालतमा उपस्थिति जनाउँदै आएको नेकपा एमाले आज काठमाडौँमा ठूलो जनप्रदर्शन गर्दैछ। बागमति प्रदेश कमिटीको आयोजनामा हुने प्रदर्शन प्रदर्शनीमार्गबाट सुरु हुने छ।
पार्टीले कार्यक्रमलाई ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ नाम दिएको छ। प्रदर्शनीमार्गमा जम्मा हुने र्याली रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डप पुग्नेछ, जहाँ आमसभा आयोजना हुनेछ। सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
एमालेले यो जनसभालाई पार्टी संगठन सशक्त र संरचना सक्रिय रहेको सन्देश दिनेको अवसरका रूपमा लिएको छ। संसद विघटन र सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर्याउँदै आएको एमालेले राजधानीमै ठूलो भीड उतारेर शक्ति प्रदर्शन गर्न खोजेको देखिन्छ।
पार्टी नेता महेश बस्नेतले आजको जनसभामा ६० हजार सहभागी उतारिने दाबी गरेका छन्। यसअघि एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरी संगठनात्मक परिचालन बढाएको थियो।
असोज ३१ मा सम्पन्न केन्द्रीय कमिटी बैठकले तय गरेको कार्यक्रमअनुसार कात्तिक २२ मा वडा भेला, २५ मा पालिकास्तरीय र कात्तिक २९ मा जिल्लास्तरीय जनसभा गरिसकेपछि आज राजधानीमा हुने यो प्रदर्शनलाई एमालेले जनपरिचालन अभियानको मुख्य चरण मानिरहेको छ।

