काठमाडौँ — जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचनको तयारी सुरु भएको बीचमा देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म चलाइएको मतदाता नामावली संकलन अभियानमा करिब साढे आठ लाख नयाँ मतदाता सूचीकृत भएका हुन् ।
थपिएका मध्ये पुरुष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८, र अन्य ६१ जनाको नाम दर्ता भएको आयोगले जनाएको छ।
आयोगको नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ जनाले नाम दर्ता गराए भने राष्ट्रिय परिचयपत्रमार्फत गरिएको बायोमेट्रिक दर्ताबाट ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन्।
यसअघि कात्तिक १६ सम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता सूचीकृत थिए।
मतदाता सूचिमा नयाँ दर्तासँगै आगामी निर्वाचनमा मतदाताको उपस्थिति उल्लेख्य रूपमा बढ्ने आयोगको अनुमान छ।

