काठमाण्डौ — पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ग्रीडर लन्चिङ कार्य सुरु हुने भएकाले पृथ्वीराजमार्ग आजदेखि मंसिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डले बिहान ६–८ बजेसम्म र दिउँसो १२–२ बजेसम्म राजमार्ग बन्द रहने जनाएको छ।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार कामका क्रममा पोखरा–विजयपुर–तालचोक रुटमा सवारी पूर्णरूपमा रोक्नुपर्ने भएकाले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अवस्थाअनुसार हर ३० मिनेटमा लाइन लागेका सवारीलाई क्लियर गरिने पनि उनले बताए।
दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे मार्ग खुला रहनेछ। ठूला सवारी साधनलाई लेखनाको पावरहाउसचोक–बागमारा–बिरौट रुट प्रयोग गर्न आग्रह गरिएको छ।
फेडरल राजधानी काठमाडौँसँग पोखरालाई जोड्ने मुख्य प्रवेशमार्ग पृथ्वीराजमार्ग हाल स्तरोन्नति भइरहेकामा, मुग्लिन–पोखरा सडकलाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा निर्माण भइरहेको छ।
योजनाअनुसार पूर्वी खण्ड जामुने–आँबुखैरेनीतर्फ धेरैजसो काम सकिएको बताइन्छ। पश्चिम खण्ड (पोखरा–जामुने)मा भने ५९.७६ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख कुँवरले जानकारी दिए।
यो खण्डका ३८.८८ किमीमध्ये ३७.४ किमीमा एकतर्फी पहिलो तहको कालोपत्र सकिएको छ। त्यसमा २९.६१ किमी चार लेन र ७.७९ किमी दुई लेन विस्तार भएको छ। १२ मध्ये ११ वटा पुल पूरा भएका छन् भने सेती नदीको पुल अझै निर्माणाधीन छ।

