काठमाडौं – ब्राजिलको बेलेममा भइरहेको संयुक्त राष्ट्रसंघको कोप–३० जलवायु शिखर सम्मेलनको मुख्य मण्डपमा अचानक आगलागी हुँदा १३ जना घाइते भएका छन्। दिउँसो करिब २ बजे सुरु भएको आगलागीको धुवाँ केही किलोमिटर टाढासम्म देखिएपछि सम्मेलनस्थलमा उपस्थित हजारौँमा त्रास फैलिएको थियो।
मण्डपभित्र १९० देशका प्रतिनिधि, पत्रकार र वातावरणकर्मीको बाक्लो भीड थियो। आगो लागेपछि मानिसहरू ज्यान जोगाउँदै चारैतिर भागभाग गर्दा त्यहाँ केहीबेर अफरातफरी भयो। दृश्यहरूमा कालो धुवाँ चस्किँदै उक्लिरहेको, बाहिर निस्कने प्रयासमा सहभागीहरू हतारिएको देखिएको छ।
आगो लागेलगत्तै दर्जनौँ दमकल तथा एम्बुलेन्स परिचालन गरिएको थियो। आयोजक यूएन कोप–३० प्रेसिडेन्सीका अनुसार आगो करिब छ मिनेटमै नियन्त्रणमा ल्याइएको हो। सोही बेला सुरु भएको भारी वर्षाले तापक्रम तथा धुवाँ घटाउन मद्दत पुगेको बताइएको छ।
नोभेम्बर १० देखि जारी सम्मेलन आज सकिँदै छ। जलवायु परिवर्तनसम्बन्धी वैश्विक बहसका लागि बेलेममा भेला भएका ५० हजारभन्दा धेरै सहभागीलाई घटनाले केहीबेर तनावमा पारे पनि औपचारिक कार्यक्रम भने निरन्तर चलाइने सूचित गरिएको छ।

