काठमाडौँ — आज विश्वभर विश्व टेलिभिजन दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष नोभेम्बर २१ मा मनाइने यो दिवस टेलिभिजनको बढ्दो प्रभाव, सूचना प्रसारणमा यसको भूमिका र विश्व समुदायलाई जोड्ने क्षमताप्रतिको कदरस्वरूप स्थापित गरिएको हो।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९६ डिसेम्बर १७ मा निर्णय प्रक्रिया, जनमत निर्माण, शान्ति–सुरक्षा तथा विकाससम्बन्धी मुद्दाहरूमा टेलिभिजनले पुर्याउने प्रभावलाई औपचारिक मान्यता दिँदै यो दिवस मनाउने प्रस्ताव पारित गरेको थियो।
टेलिभिजन विश्वभरका समुदायलाई सूचनाको आदान–प्रदानमा जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने, र सार्वजनिक धारणा निर्माणमा योगदान पुर्याउने प्रमुख माध्यम मानिन्छ।
सन् १९९६ कै नोभेम्बर २१ र २२ मा संयुक्त राष्ट्रसंघले पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरी विश्वका प्रमुख सञ्चारकर्मी, प्रसारक र विशेषज्ञहरूलाई एकै स्थानमा ल्याएको थियो। सो फोरममा बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तरराष्ट्रिय सहकार्य कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
यही पृष्ठभूमिबाट हरेक वर्ष नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा मनाइँदै आएको छ।

