काठमाण्डौ । इरान र संयुक्त राज्य अमेरिकाबीच जारी अप्रत्यक्ष आणविक वार्ता सहमतिको नजिक पुगेको छ। बिहीबार सम्पन्न पछिल्लो चरणको वार्तामा दुबै पक्षले ‘नयाँ र रचनात्मक समाधान’ खोज्न अभूतपूर्व लचिलोपन देखाएको जानकारी सार्वजनिक भएको छ ।
ओमानको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा वार्ताकारहरूले प्रगतिका लागि आवश्यक लचकता प्रदर्शन गरेको उल्लेख गरेको छ।
ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमद बिन हमुद अल्बुसैदीले जेनेभामा अमेरिकी पक्षका प्रतिनिधिसँग अप्रत्यक्ष छलफल गरेका थिए। वार्तामा अमेरिकी राष्ट्रपतिका विशेष दूत स्टिभ विटकोफ र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी रहेका छन् ।
छलफलका क्रममा इरानको प्रस्ताव, आणविक कार्यक्रमका प्रमुख पक्ष, निरीक्षण संयन्त्र तथा सम्भावित सम्झौताका लागि आवश्यक ग्यारेन्टीबारे अमेरिकी टोलीको प्रतिक्रिया र जिज्ञासामाथि समीक्षा गरिएको जनाइएको छ।
अल्बुसैदीका अनुसार वार्तामा देखिएको लचकताले प्रगतिका लागि अनुकूल वातावरण सिर्जना गरेको छ। “दिगो सुनिश्चिततासहित निष्पक्ष सम्झौतामा पुग्ने प्रयास गम्भीर र रचनात्मक रूपमा अघि बढिरहेको छ,” उनले बताएका छन्।
यसअघि बुधबार साँझ उनले जेनेभामै इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीसँग पनि भेटवार्ता गरेका थिए।
सम्झौतामा पुग्ने दिशामा वार्ता सकारात्मक मोडमा पुगेको संकेत देखिए पनि अन्तिम निष्कर्ष भने अझै सार्वजनिक गरिएको छैन ।

