काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पुर्याइएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीतर्फका गरी चार करोड ११ लाख ५३ हजार मतपत्र ७७ वटै जिल्लामा वितरण गरिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।
आयोगले स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय सबै काम समयमै सम्पन्न भइरहेको जनाएको छ। दुवै निर्वाचन प्रणालीका मतपत्र छपाइ कार्य पूरा भई जिल्लाहरूमा पठाइसकिएको छ भने केही सामग्री स्थानीय स्तरमै व्यवस्थापन गरिनेछ। निर्वाचन अधिकृतका कार्यालयमार्फत मतदान अधिकृतलाई आवश्यक सबै सामग्री हस्तान्तरण गरिने तयारी गरिएको आयोगको भनाइ छ।
मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ गतेदेखि सञ्चालनमा रहेको छ। आयोगका अनुसार यो कार्यक्रम फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।
निर्वाचन आचारसंहिताको अनुगमन र पालना सुनिश्चित गर्न केन्द्रीय आचारसंहिता अनुगमन समितिसहित सम्बन्धित संयन्त्रहरू सक्रिय रहेको आयोगले जनाएको छ।
फागुन ४ गतेदेखि चुनावी प्रचारप्रसार सहित मत मागिरहेका राजनीतिक दलहरूलाई प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही मर्यादित र शिष्ट बनाउन आयोगले निर्देशन दिएको छ।

