२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका हुन् ।
मन्त्री गुरुङका अनुसार मन्त्रिपरिषद्को निर्णयसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेका छन् । तर उनले सामाजिक सञ्जाल बन्द गर्ने अघिल्लो कदमलाई सरकारले गल्ती मानेको छैन भन्ने स्पष्ट पारे । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ मन्त्री गुरुङले भने ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही सामाजिक सञ्जाल कम्पनीहरूले नेपालको कानुन र स्वाभिमानको अवहेलना गरेको भन्दै आपत्ति जनाएका थिए । उनका अनुसार प्रतिबन्धित मध्ये एक्स (पूर्व ट्विटर) ले नेपालमा दर्ता नगर्ने र कानुन नमान्ने अडान लिएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा भनेका थिए, ‘यो कुरा डेढ वर्षदेखि भनिरहेका थियौं । सूचीकृत गर भनेका थियौं, नेपालको कानुन मान भनेका थियौं । हाम्रो राष्ट्रिय स्वाभिमानको कदर गर्ने कुरा हो । तर उनीहरूले त्यसमा हमला गरे । सामाजिक सञ्जालमाथि एउटा देशलाई यसरी हेप्न पाइन्छ ? राष्ट्रको अपमान गर्नेगरी उनीहरूलाई खोलिदिने त ?’
यसअघि सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध देशभर आन्दोलन चर्किएपछि सरकारले दबाबका बीचमा सामाजिक सञ्जाल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

