काठमाडौं ।
नेपाली कांग्रेसको पेशागत बुद्धिजीवी विभागकी प्रमुख डा. डिला संग्रौला पन्तले जेन–जी पुस्ताले गरेका शान्तिपूर्ण प्रदर्शनमाथि भएको दमनको घोर भत्सर्ना गरेकी छन्।
भ्रष्टाचार, बेथिति, नातावाद तथा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सडकमा उत्रिएका युवामाथि प्रहरीले गोली प्रहार गरी ज्यान गुमाउनु परेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। साथै घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग समेत उनले गरेकी छन्।
उनले भनेकी छन्, “हामी दुःखित छौं कि शान्तिपूर्ण आन्दोलन प्रहरी कारबाहीका कारण हिंसात्मक बन्नुपर्यो। काठमाडौंको नयाँबानेश्वर, दमक, पोखरा लगायतका स्थानहरूमा भएका घटनामा एक दर्जनभन्दा बढीको ज्यान गएको, दर्जनौं घाइते भएको र कर्फ्यू घोषणा हुनुपरेको खबरले हामीलाई गहिरो पीडा दिएको छ।”
प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग गरेको देखिएको भन्दै उनले मानवअधिकार उल्लंघन भएको स्पष्ट आरोप लगाइन्। उनले राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसअनुसार सरकारले तत्काल आन्दोलनकारीमाथिको दमन रोक्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिन्।
“युवाहरूको आवाजलाई दबाउनु भनेको नेपालको भविष्यलाई दबाउनु हो,” संग्रौलाले जोड दिँदै भनिन्।

