काठमाडौँ । आकर्षक तलबसहित विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम उठाएर सम्पर्कविहीन भएको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–९ बस्ने नवलपरासी पश्चिम रामग्राम नगरपालिका–७ का ४७ वर्षीय शैलेन्द्र पाण्डे, टोखा नगरपालिका–९ निवासी ३० वर्षीया सुमना अर्याल, काठमाडौँ महानगरपालिका–९ बस्ने खोटाङका ३० वर्षीय विकास सुनार, काठमाडौँ महानगरपालिका–३० बस्ने नवलपरासी पूर्वका ५३ वर्षीय वासुदेव श्रेष्ठ, काठमाडौँ महानगरपालिका–९ बस्ने पाँचथरका ४७ वर्षीय धनबहादुर योङहाङ तथा नवलपरासी पूर्व देवचुली नगरपालिका–८ घर भएकी ३३ वर्षीया नौमाया आलेमगर रहेका छन् ।
प्रहरीका अनुसार शैलेन्द्रले सर्विया र स्लोभाकियालगायतका देशमा रोजगारी लगाइदिने प्रलोभन देखाएर १३ जनाबाट ३५ लाख ७० हजार रुपैयाँ उठाएका थिए ।
त्यसैगरी सुमनाले यूएई पठाइदिने भन्दै एक जनाबाट दुई लाख ८२ हजार रुपैयाँ, विकासले स्पेन पठाइदिने आश्वासनमा १० जनाबाट १० लाख रुपैयाँ, वासुदेवले क्यानडा पठाइदिने भन्दै सात लाख ५० हजार रुपैयाँ तथा धनबहादुरले दक्षिण कोरिया पठाइदिने भन्दै दुई लाख रुपैयाँ असुलेको आरोप छ ।
यस्तै, नौमाया आलेमगरले साइप्रस पठाइदिने भन्दै एक जनाबाट छ लाख चार हजार ५०० रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
पक्राउ परेका शैलेन्द्र, सुमना, विकास, वासुदेव र धनबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । नौमायालाई भने आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ ।

