काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका प्रत्यक्षतर्फका ३ हजार ४०६ जनामध्ये केवल १ हजार ८६५ उम्मेदवारले मात्र छुट्टै चुनावी बैंक खाता खोलेका छन्। आर्थिक पारदर्शिता सुनिश्चित गर्न अनिवार्य गरिएको खाता धेरै उम्मेदवारले नखोलेको भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गरेको छ।
आयोगका अनुसार निर्वाचनमा सहभागी ६५ राजनीतिक दलमध्ये ११ दलले मात्रै प्रचारप्रसारका लागि आवश्यक बैंक खाता सञ्चालनमा ल्याएका छन्। आइतबारसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा (संयुक्त), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी, नेपाल जनता संरक्षण पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन्।
आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीस का अनुसार राजनीतिक दल र उम्मेदवारले लिने आर्थिक सहयोग पारदर्शी बनाउन, खर्च सीमा पालना गराउन र प्रभावकारी निगरानी गर्न छुट्टै बैंक खाता अनिवार्य गरिएको हो।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२’ अनुसार निर्वाचनमा भाग लिने सबै राजनीतिक दल, दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले अनिवार्य रूपमा छुट्टै खाता खोल्नुपर्ने व्यवस्था छ।
निर्वाचनसम्बन्धी सम्पूर्ण आर्थिक सहयोग र खर्च सोही खातामार्फत गर्नुपर्ने नियम रहेको आयोगले जनाएको छ।

