नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै राजनीतिक दलसँगको सहकार्यबाट पाँच वर्षभित्रै मुलुकलाई समृद्ध बनाउने सम्भावना रहेको बताएका छन्।
विदुर नगरपालिका–४ बट्टारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशमा देखिएका बेथिती अन्त्य गर्न सबै पक्षलाई साथमा लिएर अघि बढ्न आवश्यक रहेको बताए। कांग्रेसले व्यापक सुधारलाई मुख्य संकल्पका रूपमा अघि सारेको उल्लेख गर्दै उनले वर्तमान अवस्थाभन्दा पाँच गुणा बढी काम गर्ने प्रतिबद्धता जनाए।
स्वच्छ प्रतिस्पर्धालाई प्राथमिकता दिँदै गठबन्धनको अभ्यास अस्वीकार गरेर अघि बढेको बताउँदै उनले सरकार सञ्चालनमा भने सबै पक्षसँग सहकार्य गरिने स्पष्ट पारे।
थापाले विकास निर्माणका क्षेत्रमा देखिएका कानुनी अवरोध, किसानले समयमा मल नपाउने समस्या लगायत जनताका दैनिक जीवनसँग जोडिएका साना–ठूला सबै विषय समाधान गर्न नयाँ सरकारले प्राथमिकता दिनुपर्ने व्यक्त गरे।

