काठमाण्डौ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्ध र त्यससँग सम्बन्धित सैन्य तयारीमा हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च भएको जनाएको छ। मङ्गलवार सार्वजनिक गरिएको यो तथ्याङ्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि युद्धको प्रभाव र खर्चबारे राजनीतिक दबाब थपिएको छ।
क्यापिटल हिलमा आयोजित बजेट सुनुवाइका क्रममा रक्षा विभागले सार्वजनिक गरेको नयाँ विवरण दुई साताअघि रक्षा सचिव पिट हेगसेथले प्रस्तुत गरेको अनुमानभन्दा झण्डै चार अर्ब डलर बढी हो। यसअघि हेगसेथले अप्रिल २९ मा युद्धको लागत करिब २५ अर्ब डलर हुने बताएका थिए।
सुनुवाइमा रक्षा सचिव हेगसेथ, ‘ज्वाइन्ट चिफ्स अफ स्टाफ’का अध्यक्ष जनरल डनकेन तथा पेन्टागनका वित्त प्रमुख जुल्स हस्र्ट तृतीय सहभागी थिए। उनीहरू सन् २०२७ का लागि प्रस्ताव गरिएको १.५ ट्रिलियन डलरको रक्षा बजेटमाथि छलफल गरिरहेका बेला सांसदहरूले युद्धको वास्तविक खर्च सार्वजनिक गर्न माग गरेका थिए।
हस्र्टले सांसदहरूलाई जानकारी दिँदै संयुक्त कर्मचारी टोली र नियन्त्रक समूहले निरन्तर लागत मूल्याङ्कन गरिरहेको बताए। उनका अनुसार उपकरणको मर्मत, प्रतिस्थापन र विस्तारित सैन्य परिचालन खर्च जोडिँदै जाँदा अनुमानित रकम २९ अर्ब डलरको हाराहारी पुगेको हो।
युद्धको सम्पूर्ण खर्च विवरण काङ्ग्रेसले कहिले पाउने भन्ने प्रश्नमा हेगसेथले प्रशासनले पेन्टागनको नियमित बजेटभन्दा अलग पूरक बजेट अनुरोध गर्ने तयारी गरिरहेको बताए। तर उक्त अनुरोध कहिले प्रस्तुत हुन्छ भन्नेबारे उनले स्पष्ट समयसीमा दिएनन्। यसबीच अमेरिकी राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको पछिल्लो शान्ति प्रस्ताव अस्वीकार गरेका छन्। उनले युद्धविरामलाई “मानवीय जीवन जोगाउने उपाय”का रूपमा व्याख्या गर्दै इरानमाथि दबाब कायम रहने संकेत दिएका छन्।
डेमोक्र्याट सांसदहरूले भने सुनुवाइका क्रममा प्रशासनमाथि युद्धको उद्देश्य र वास्तविक लागतबारे पर्याप्त पारदर्शिता नराखेको आरोप लगाएका छन्। हाउस एप्रोप्रिएशन कमिटीकी वरिष्ठ डेमोक्र्याट रोजा डेलाउरोले “हामीले अन्ततः के उपलब्धि हासिल गर्यौँ र त्यसको मूल्य कति चुकायौँ भन्ने जवाफ आवश्यक रहेको” बताइन्।
अर्की डेमोक्र्याट बेट्टी म्याककोलमले पनि पेन्टागनमाथि “पारदर्शिताको निरन्तर अभाव” रहेको आरोप लगाउँदै थप बजेट स्वीकृत गर्नुअघि प्रशासनको दीर्घकालीन रणनीति स्पष्ट हुनुपर्ने माग गरिन्।
मध्य पूर्वमा महिनौँदेखि जारी भारी क्षेप्यास्त्र आक्रमण र हवाई प्रतिरक्षा अभियानका कारण अमेरिकी हतियार भण्डार तीव्र रूपमा घट्दै गएको भन्दै युद्धले थप चिन्ता बढाएको विश्लेषण गरिएको छ।

