काठमाडौं — पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि काठमाडौं उपत्यकासहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा भइरहेको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै, बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थान तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान पनि गरिएको छ।
आज राति पनि मौसम पूर्ण रूपमा सुधार नहुने महाशाखाले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

