काठमाडौं – योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ।
दाङको तुलसीपुर बजारमा बिहीबार राति एक समूहले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) को चुनाव चिह्न अंकित झण्डा जलाएको घटनापछि वाइसिएलले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा राजनीतिक दलका झण्डा जलाउने, च्यात्ने तथा कार्यक्रम बिथोल्ने गतिविधि अराजनीतिक र उच्छृङ्खल भएको उल्लेख गर्दै यस्ता कार्यले निर्वाचनको वातावरण बिगार्ने चेतावनी दिइएको छ। “लोकतन्त्रमा असहमति राख्न पाइन्छ, तर त्यसलाई हिंसात्मक बनाउनु हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
वाइसिएलले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रको मूल सुन्दरता अभिव्यक्ति स्वतन्त्रता, राजनीतिक गतिविधि सञ्चालन गर्ने अधिकार र फरक विचारप्रति पारस्परिक सम्मान भएको स्मरण गराउँदै आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।

