काठमाण्डौ । २५औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक सहारा क्लब ले जितेको छ।
पोखरा रंगशालामा शनिबार भएको फाइनलमा सहाराले ‘ए’ डिभिजन क्लब जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै १२ वर्षपछि उपाधि उचालेको हो।
पहिलो हाफमा १–० ले अग्रता बनाएको सहाराले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गरेको थियो।
विजेता सहारा क्लबले १४ लाख रुपैयाँ र उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
व्यक्तिगत पुरस्कार विजेतातर्फ सर्वाधिक गोलकर्ता (३ गोल) प्लानिङ ब्वाइज युनाइटेडका पापा आइवौ केवे,
उत्कृष्ट गोलरक्षकमा सहाराका टिकेन्द्र थापा, उत्कृष्ट डिफेन्डरमा सहाराका डाय डानियल, उत्कृष्ट मिडफिल्डरमा जावलाखेलका बौबोकार सिसोको रहेका छन् ।
साथै, उत्कृष्ट फरवार्ड धर्वेन्द्र कुँवर, उत्कृष्ट प्रशिक्षक सुनिल रानामगर (सहारा क्लब), उदीयमान खेलाडी मुकुन्दकुमार निउरे (सहारा क्लब)ले प्राप्त गरे ।
प्रतियोगितामा फेयर प्ले टिमको अवार्ड आभा एफसी (उज्वेकिस्तान)ले पाएको छ ।
उनीहरू सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहाराकै मुकुन्दकुमार निउरे घोषित भए। उनले टेलजीको स्कुटर पुरस्कारस्वरूप प्राप्त गरेका छन् ।

