विश्व मानसिक स्वास्थ्य दिवस : ‘मन स्वस्थ, तन स्वस्थ’ सन्देश विश्वभर
काठमाडौँ, असोज २४ — मानसिक स्वास्थ्यप्रति जनचेतना जगाउने उद्देश्यसहित आज विश्वका विभिन्न देशमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ। सन् १९९२ देखि सुरु गरिएको यो दिवसले मानसिक स्वास्थ्यलाई समग्र मानवीय स्वास्थ्यको अनिवार्य हिस्सा रूपमा स्थापित गर्न प्रेरित गर्दै आएको छ।
विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार मानसिक स्वास्थ्य बिना शारीरिक स्वास्थ्य सम्भव छैन। त्यसैले यस वर्ष पनि ‘मन स्वस्थ भए तन स्वस्थ हुन्छ’ भन्ने सन्देशलाई व्यापक बनाउने उद्देश्यका साथ विविध कार्यक्रम आयोजना गरिएको छ।
दिवसले विशेष गरी प्राकृतिक प्रकोप, युद्ध, द्वन्द्व र महामारीजस्ता आपत्कालीन परिस्थितिमा परेका व्यक्तिहरूलाई मनोसामाजिक सहयोग र परामर्शको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
संयुक्त राष्ट्रसंघले यस अवसरमा राजनीतिक नेतृत्व, सरकारी निकाय, स्वास्थ्यकर्मी, विद्यालयका कर्मचारी तथा सामुदायिक समूहहरूबीच सहकार्य गरी हरेक व्यक्तिको मानसिक सबलता सुनिश्चित गर्न आह्वान गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनले सबै सदस्य राष्ट्रहरूलाई मानसिक स्वास्थ्यका विषयमा खुलेर संवाद गर्न, पूर्वाग्रह तोड्न र सहायता खोज्ने संस्कृतिलाई प्रोत्साहन गर्न आग्रह गरेको छ।