काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणले मात्रै मुलुकको अर्थतन्त्र सुधार नहुने स्पष्ट गर्दै मन्त्रीका हैसियतमा वैदेशिक भ्रमणमा नजाने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले यसअघि तीनवटा वैदेशिक भ्रमण तथा कार्यक्रमका निमन्त्रणा अस्वीकार गरिसकेको र हाल प्राप्त दुईवटा निमन्त्रणामा पनि सहभागी नहुने जनाएका हुन्।
उनले लेखेका छन्, “देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि ठोस प्रगति सम्भव छैन। केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ ?”
मन्त्री पुनले इजरायलको जेरुसेलममा आगामी फेब्रुअरी ४ देखि ६ तारिखसम्म हुने मन्त्रिस्तरीय बैठक र साउदी अरेबियामा मे ३ देखि ४ तारिखसम्म आयोजना हुने ‘ह्युम्यान क्यापासिटी इनिसियटिभ’ कार्यक्रममा सहभागी हुन प्राप्त निमन्त्रणा पत्रसमेत सार्वजनिक गरेका छन्।
उनको अभिव्यक्तिलाई वर्तमान आर्थिक चुनौतीबीच खर्च कटौती र प्राथमिकता निर्धारणको सन्देशका रूपमा हेरिएको छ।

