काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने लक्ष्यसहित निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी पूरा गरेको छ। आयोगले आगामी माघ ३ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ।
आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी, हालसम्मको प्रगति र व्यवस्थापनसम्बन्धी विवरण प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ। आयोगका अनुसार निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले गर्न पाउने र नपाउने गतिविधिबारे आचारसंहितामा स्पष्ट व्यवस्था गरिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापन र समग्र तयारीबारे जानकारी गराएका हुन् ।
आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार, राजनीतिक दल र सरोकारवाला निकायको भूमिका निर्णायक हुने आयोगले बताएको छ।
आचारसंहिता कडाइका साथ पालना गराएर निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता आयोगले जनाएको छ।

