काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहँदा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको असरसमेत देखिएको छ। यसका कारण तराई भू–भागमा हुस्सु तथा कुहिरो फैलिएको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली छ। बाँकी पहाडी तथा हिमाली भू–भागमा भने आकाश प्रायः खुल्ला रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु/कुहिरो लागेको छ भने अन्य तराईका केही स्थानमा पनि कुहिरो देखिएको छ।
आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्नसम्म हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहँदा बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
आज राति तराईका केही स्थानमा हुस्सु,कुहिरो लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।

