काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइए पनि यतिबेलासम्म बैठक बसेको छैन ।
पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा सबै प्रदेश सभापतिलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान गरिएको छ।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र चर्किएको आन्तरिक विवादका बीच आकस्मिक बैठक बोलाइनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। इतर समूहले विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुर्याइसकेको छ। भोलि काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्ने तयारी रहेको विशेष महाधिवेशन रोक्ने रणनीतिमा संस्थापन पक्ष रहेको छ।
विशेष महाधिवेशन पक्षधरले आज दिउँसो पदयात्रा कार्यक्रमसमेत आयोजना गरेका छन्। दिउँसो १ बजे भृकुटीमण्डपमा भेला भएर बागबजार हुँदै पुनः भृकुटीमण्डपमै पुगेर पदयात्रा समापन गर्ने तालिका छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा सहभागिता बढ्दै गएको इतर समूहले दाबी गरेको छ। उनीहरूका अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरमार्फत आह्वान गरिएको विशेष महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान छ।
केही जिल्लाहरू विशेष महाधिवेसनको पक्षमा खुलेका छन् भने केही जिल्लाले हस्ताक्षर फिर्ता लिएको र वैशाखका लागि तय गरिएको नियमित महाधिवेशनको पक्षमा रहेको भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन्। यद्यपि हालसम्म खुलेका प्रतिनिधि ५० प्रतिशतभन्दा बढी रहेको इतर समूहको दाबी छ।
संस्थापन पक्षले भने विशेष महाधिवेशनलाई अवैध भन्दै त्यसमा सहभागी नहुन प्रतिनिधिहरूलाई निरन्तर आह्वान गरिरहेको छ। विशेष महाधिवेसन पक्ष जसरी पनि अघि बढ्ने योजनामा छ ।
विशेष महाधिवेशन बोलाएकै दिन पुस २७/२८ गते पारेर संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा युवा भेला र जिल्ला सभापतिहरूको भेला गर्ने कार्यक्रम तय गरेको छ।
दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा नेपाली कांग्रेस गम्भीर आन्तरिक संकटतर्फ उन्मुख भएको विश्लेषण हुन थालेको छ। आकस्मिक केन्द्रीय समिति बैठकले पार्टीको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

