काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानद्वारा आयोजित नवौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। उपाधि भिडन्त दिउँसो साढे १ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुने तालिका छ।
यसअघि तेस्रो स्थानका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड गरी चार टोली सहभागी थिए।
राउन्ड रोबिन लिगका खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गरेका हुन् भने पुछारमा परेका दुई टोली तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। २०७२ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ सहित आकर्षक पुरस्कार प्रदान गरिनेछ।
विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई १५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। साथै एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मान गरिने आयोजकले जनाएको छ।

