काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।
दशरथ रङ्गशालामा आयोजित समारोहमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति सुशीला कार्कीले उनीहरूलाई दीक्षित भएको घोषणा गरिन्।
त्रिभुवन विश्वविद्यालयका अनुसार यस वर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह गरी कूल ८९ हजार १०१ विद्यार्थी उत्तीर्ण भएका छन्।
दीक्षान्त समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलो पटक नोबेल पुरस्कार विजेता वैज्ञानिक एवम् प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रममा सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलगायत शैक्षिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालय क्रमिक रूपमा सुधारको बाटोमा अघि बढिरहेको उल्लेख गर्दै दीक्षित विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

