काठमाडौँ। पोर्चुगल र रोमानिया पठाइदिने प्रलोभनमा पारेर रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई यसै साता सार्वजनिक गरिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार तनहुँको भिमाद गाउँपालिका–५ का रोबिन जिआर र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगर पक्राउ परेका हुन्।
अभियुक्त रोबिन जिआरले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु २ लाख १० हजार ठगी गरेको र गीतामाया मगरले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु ८ लाख ४० हजार असुलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

