काठमाडौँ । बालविवाह नियन्त्रण र युवतीलाई उच्च शिक्षातर्फ प्रोत्साहित गर्न सिन्धुलीको मरिण गाउँपालिकाले स्नातक तह उत्तीर्ण गर्ने अविवाहित महिलालाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिकाले यो रकम प्रोत्साहनस्वरूप उपलब्ध गराउने जनाएको छ ।
गाउँपालिकाको सूचनाअनुसार, इच्छुक युवतीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ ।
सूचना कात्तिक १३ गते प्रकाशित गरिएको हो ।
गाउँपालिकाले स्पष्ट पारेको छ कि २० वर्ष उमेर पूरा गरेका, मरिण गाउँपालिका क्षेत्रभित्रका क्याम्पसमा अध्ययन गर्ने र स्थायी रूपमा त्यहीँ बसोबास गर्ने अविवाहित किशोरी वा स्नातक तह उत्तीर्ण गरी विवाह गर्ने महिलालाई मात्रै यो प्रोत्साहन रकम दिइनेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दासका अनुसार, यो नीति मरिण गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रममा समावेश गरिएको हो । कार्यविधिअनुसार आवेदनका साथ नागरिकताको प्रतिलिपि, स्नातक तहको प्रमाणपत्र तथा ट्रान्सक्रिप्ट र वडा कार्यालयको अविवाहित रहेको प्रमाणित गर्ने सिफारिस अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।
किन दिइयो एक लाखको प्रोत्साहन रकम ?
प्रमुख प्रशासकीय अधिकृत सुन्दासका अनुसार गाउँपालिकामा बालविवाहका घटनाहरू बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न र युवतीलाई उच्च शिक्षातर्फ प्रेरित गर्न यो नीति ल्याइएको हो ।
कार्यविधिमा उल्लेख छ — “गाउँपालिका क्षेत्रमा अत्यधिक मात्रामा हुने बालविवाह र त्यसबाट पर्ने दीर्घकालीन असरलाई न्यूनीकरण गर्दै, किशोरी तथा अविवाहित महिलालाई उच्च शिक्षा अध्ययनको अवसर सिर्जना गर्नुपर्छ भन्ने ठम्याइका आधारमा किशोरी प्रोत्साहन कार्यक्रम ल्याइएको हो।”
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम कार्यविधि जारी गर्दै, नीति कार्यान्वयनका लागि रकम विनियोजन गरेको छ ।
यस निर्णयलाई सामाजिक सञ्जालमा धेरैले स्वागत गरेका छन् । उनीहरूले यसलाई “शिक्षित र स्वावलम्बी महिलातर्फको सकारात्मक पहल” भन्दै अन्य स्थानीय तहले पनि अनुकरण गर्नुपर्ने सुझाव दिएका छन् ।

