काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेका रुपन्देहीस्थित चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन् ।
काठमाडौंमा उद्योगीहरू र सरकारबीच वार्ता चलिरहेका बेला भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले आफ्नो बक्यौताको पहिलो किस्ता बुझाएका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार पहिलो किस्ता तिर्ने उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ । उनका अनुसार उद्योगहरूले वि.सं. २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेको भुक्तानीको पहिलो किस्ता बुझाएका हुन् ।
प्राधिकरणका विवरण अनुसार —
पञ्चकन्या प्लाष्टिक उद्योगको बक्यौता : २४ लाख ६३ हजार रुपैयाँ
पञ्चकन्या स्टिल इण्डष्ट्रिजको बक्यौता : ५२ लाख १९ हजार रुपैयाँ
सिद्धार्थ पेटप्लान्टको बक्यौता : १ करोड ८३ लाख रुपैयाँ
श्याम प्लास्टिक उद्योगको बक्यौता : ४९ लाख १० हजार रुपैयाँ
प्राधिकरणले बक्यौतालाई २८ किस्तामा विभाजन गरी भुक्तानी लिन सहमति गरेको छ ।
पहिलो किस्ता तिरेसँगै उद्योगहरूले विद्युत् आपूर्तिको पुनः सुविधा पाएका छन् ।

