काठमाडौं । जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) र भोलि बुधबार देशका पहाडी भू–भागमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमान गरेको छ ।
विभागल सोमबार जारी गरेको सूचनाका अनुसार, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण यस्तो मौसमी स्थिति देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार, हल्का वर्षासँगै उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम स्तरको हिमपात समेत हुन सक्ने संभावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ ।
राति भने कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी प्रदेशहरूमा मौसम सामान्य रूपमा सफा रहने महाशाखाले जनाएको छ ।
विभागले पर्वतीय क्षेत्रका यात्रुहरू, किसान र चरन क्षेत्रमा जानेहरूलाई सावधानी अपनाउन र आवश्यक तयारी गर्न अनुरोध गरेको छ ।

