काठमाडौं । वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी र वरिष्ठ नाट्यकर्मी कृष्णभक्त महर्जनसहित १८ जना प्रतिष्ठित व्यक्तित्व सम्मानित भएका छन्। सिटिइभिटी मान्यता प्राप्त जस्मिन ब्युटिपार्लर एण्ड ट्रेनिङ इन्स्टिच्युटले आफ्नो २०औँ ब्याचका विद्यार्थीहरूको प्रमाणपत्र वितरण समारोहका अवसरमा उनीहरूलाई कदरपत्रसहित सम्मान गरेको हो।
कार्यक्रममा नायिका हिसिला महर्जन, भिन्तुना जोशी, थाहासञ्चारकर्मी राजेन्द्र डंगोल, नवनारीकी पत्रकार विष्णुमाया बास्कोटा, ‘मेरो साप्ताहिक’का पत्रकार रत्नमान महर्जन, दरबार हाइस्कुलकी प्रधानाध्यापक शारदा पौडेल र सोही विद्यालयका व्यवस्थापन समिति सदस्य तथा शिक्षाविद् राजेन्द्र श्रेष्ठ पनि सम्मानित भएका हुन्।
त्यस्तै, काठमाडौं मोडेल स्कुल र नेवा किन्डरगार्डेनका संस्थापक राजेन्द्र महर्जन, बज्रकला कुञ्जका प्रशिक्षक तथा कोरियोग्राफर सुदन मनिकार, र नृत्य निर्देशक पलिस्था महर्जन पनि सम्मानित व्यक्तिहरूमध्ये परेका छन्।
संस्थापक अध्यक्ष शर्मिला प्रजापति मुनिकारले ‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ प्रत्येक वर्ष यस्ता कार्यक्रममार्फत योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको बताइन्।
उनका अनुसार, “हामीले सीप सिकाउने मात्र होइन, सीपमार्फत आत्मनिर्भर बन्ने बाटो पनि देखाउने उद्देश्य राखेका छौँ।”
कार्यक्रममा शर्मिला मुनिकारको पहिलो अभिनय रहेको ‘आमा’ म्युजिक बायोग्राफी भिडियो पनि सार्वजनिक गरिएको थियो। उक्त भिडियोको निर्देशन, छायांकन र सम्पादन थाहासञ्चारकर्मी राजेन्द्र डंगोलले गरेका हुन्।

