काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)ले घरेलु मैदानमा अमेरिकासँग लज्जास्पद हारको सामना गरेको छ।
सुरुमा ब्याटिङ गरेको अमेरिका ५० ओभरमा मात्र तीन विकेट गुमाएर २९३ रन बनाएको थियो। उसका लागि सइतेजा मुकमल्ला र मिलिन्द कुमारले शतकीय इनिङ खेले।
मुकमल्लाले १३७ रन बनाए भने कुमारले १२३ रन बनाए। दुवै ब्याट्सम्यानबीच २६४ रनको ऐतिहासिक साझेदारी पनि रहेको छ, जुन अमेरिकी क्रिकेटमा शतकको साझेदारी भएको पहिलो घटना हो।
यूएईले भने २२ ओभर १ बलमा सबै विकेट गुमाउँदै मात्र ४९ रनमा अलआउट भयो। यूएईका जुनैद सिद्धिकीले सर्वाधिक १० रन बनाउँदा अन्य ब्याट्सम्यानले रन जोड्न सकेनन्, तीन ब्याट्सम्यान शून्यमै आउट भए।
अमेरिकाका ऋषि उगरकले मात्र ८ ओभर १ बलमा २२ रन खर्चेर पाँच विकेट लिए भने सौरभ नेत्रवल्करले तीन विकेट हात पारे।
यूएईलाई कमजोर देखाउँदै अमेरिका अंक तालिकाको शीर्ष स्थानमा रहँदा, यूएई पुछारमा छ। अमेरिकाले २४ खेल खेलेर ३६ अंक बनाएको छ भने १९ खेल खेलेको यूएईले ८ अंक मात्र जोडेको छ।
लिग–२ को अर्को खेल बुधबार यूएई र नेपालबीच हुनेछ।

