काठमाडौं । नेकपा (माओवादी केन्द्र) सहित नौ दलबीचको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ। प्रज्ञाभवन कमलादीमा जारी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त जानकारी गराएका हुन्।
प्रचण्डले नौ दलीय एकतालाई ऐतिहासिक कदमका रूपमा व्याख्या गर्दै नयाँ पार्टीले देशमा स्थायित्व, समाजवाद र रूपान्तरणको दिशामा अग्रसर हुने बताएका छन्। उनका अनुसार पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहनेछ, जसमा पहिले नै आठ दलबिच सहमति भइसकेको हो।
आइतबार माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायत आठ दलबीच भएको १८ बुँदे सहमतिमा पार्टीको नाम उल्लेख गरिएको थिएन। नाम र चिन्हबारे अन्तिम निर्णय आजको बैठकमा भएको हो।
अब नयाँ पार्टी भोलि भृकुटीमण्डपमा विशेष कार्यक्रममार्फत औपचारिक रूपमा एकता घोषणा गर्ने तयारीमा छ। उक्त कार्यक्रममा नौ वटै दलका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।
नेता दाहालका अनुसार एकता केवल आगामी निर्वाचनका लागि होइन, दीर्घकालीन वैचारिक र राजनीतिक स्थायित्वका लागि गरिएको हो। उनले भने, “यो एकता परिवर्तन र समाजवादी यात्राको नयाँ प्रारम्भ हो।”
यससँगै लामो समयदेखि विभाजित वाम आन्दोलन फेरि एउटै छातामुनि आउने तयारीमा पुगेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलनको सुरुवातका रूपमा हेरिएको छ।

