काठमाडौं । क्यान्सरप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज नेपालमा पनि विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने यस दिवसका अवसरमा सरकारी तथा गैरसरकारी संघसंस्थाले क्यान्सर रोकथाम र उपचारबारे सचेतनामूलक गतिविधि सञ्चालन गरेका छन्।
नेपाल अर्बुद रोग निवारण संस्थाको अगुवाइमा आज बिहान काठमाडौंको भृकुटीमण्डपबाट क्यान्सरविरुद्ध सचेतना र्याली निकालिएको छ। पछिल्ला वर्षहरूमा क्यान्सर रोगीको संख्या तीव्र रूपमा बढ्दै गएपछि दिवसलाई व्यवहारिक चेतनासँग जोडेर मनाउने प्रयास गरिएको आयोजक संस्थाहरूले जनाएका छन्।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष विश्वभर करिब १० लाख मानिस क्यान्सरका कारण ज्यान गुमाउँछन्। नेपालमा मात्रै दैनिक करिब ४० जनाको क्यान्सरबाट मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ। मन्त्रालयका अनुसार नेपालमा प्रत्येक वर्ष करिब २६ हजार नयाँ क्यान्सरका बिरामी थपिने गरेका छन्।
नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिने गरेको छ। त्यसपछि पाठेघरको मुख, स्तन, पेट, ठूलो आन्द्रा, मुख तथा रगतको क्यान्सर क्रमशः बढी देखिने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
डब्ल्यूएचओका अनुसार खानपान र जीवनशैलीमा सचेतना अपनाउन सके क्यान्सर लाग्ने जोखिम करिब ४० प्रतिशतसम्म घटाउन सकिन्छ। यसै सन्देशलाई केन्द्रमा राख्दै विश्व क्यान्सर दिवस मनाइएको हो।

